मृत्यु कुरिरहेका मान्छेहरु
तिमीलाई लाग्दो हो-
हामी संयोगले मरिरहेका हौँ।
सत्य यो हो कि –
हामी त संयोगले बाँचिरहेका छौँ।
हामी त फगत मृत्यु कुरिरहेका छौँ।
मार्कसिट र ताराहरु
प्रिय !
तिम्रा सपनाहरुको बफादारीमा
मैले कुनै दिन आकाश रित्याईदिनेछु
र सजाउनेछु मेरा मार्कसिटहरुमा ।
म सोचिरहेछु-
कति ताराहरु टाँसेपछि
मेरो बबुरो मार्कसिट
प्रेमको प्रमाण बन्ला?
मिस नेपाल र पुँजीवाद
गजब लाग्छ ,
यो चरम पुँजीवादी महंगीमा
शरीर चैँ कति सस्तो हगि?
ए पुँजीवाद!
सुन्दरताको जति सुकै सुन्दर परिभाषा बनाउ
त्यो त्यति नै कुरुप हुन्छ ।
प्रेमिल झुठहरु
सहरमा
झुठहरुको खरिदबिक्री तीब्र छ !
जस्तो कि,
हिजो भर्खर केहीथान झुठ बोलेर
मैले तिमीलाई आफ्नो बनाएको छु।
आकाश थामेका हुटिट्याउँहरु
पहाडजस्तो विचारलाई
उँटजस्तो कुरुप बनाउने
कमिलाजस्ता मान्छेहरु जोगाउन
आकाश थामेजस्तो गरिरहेका छौँ
हुटिट्याउँ जस्ता हामीहरु !
आँखाले किन प्रेम गर्छ?
बैँस ‘ओभरलोडेड’ ओठ
प्रेम छल्किइरहने आँखा
डिम्पल बसाईदिने गाला
छैन केही उ सँग
तैपनि उ
मेरी “मिस वर्ल्ड” हो
किनकि
म उसलाई प्रेम गर्छु !
चिसो राज्य
राज्य चिसो छ !
आँफुलाई न्यानो बनाउन
हरेक जाडोमा उ आगो झोस्छ
गरिबका झुपडीहरुमा !

Recent Comments