शंकालु आँखा र प्रश्नहरु
चोकवाट देब्रे छुट्टिने बेला
बेग्रल्ती प्रश्नहरु बोकेर
केही जोडी शंकालु आँखाहरु
म तिर प्रश्न तेर्साइरहेछन् !
हो!
त्यो सजिलो बाटोमा
मैले जिन्दगी नभेटेकै हो,
त्यो सुविधाको संसार
मैले बाँच्न नसकेकै हो ।
रातो यात्रा
भन्नेहरूले
संसदीय काट्टो खाएपछि
समाजवाद मिल्छ भनिदिएछन् !
एक हुल कमरेडहरू
तालु खौरिएर
जनै–धोती भिरेर
मार्क्सवादलाई स्वाहा गरिरहेछन् ।
कामरेडको रातो किताब
सहरभरी हल्ला छ
कामरेडको दरवारवाट
रातो किताब हरायो रे !
याद छैन कामरेडलाई
किताब कहाँनेर थियो ?
कहिलेसम्म थियो ?
कहिले वाट हरायो ?
के थियो किताबको नाम?
को थियो लेखक?
कस्तो थियो सार?
बिर्सिसक्नु भयो कामरेडले
कति समय भएको थियो ?
किताब नसुम्सुमाएको
पाना नफर्काएको
अक्षरहरु महसुस नगरेको !
के मैले अपराध गरेँ ?
तमाम सिन्डिकेटहरु तोडेर
सपना र सम्भावना देख्नु
अपराध नै हो भने
ए सरकार
म यो युगको
सबैभन्दा खतरनाक अपराधी हुँ ।
चे जन्माउने शासकहरु
आलोचनात्मक चेत सँगै
सग्लो मान्छे बन्न खोज्नु
बिद्रोही हुनु हो भने
म बिद्रोही नै हुँ
र निरन्तर उठाईरहनेछु
गलत बिरुद्ध आवाजहरु
नभाँचिञ्जेल !
नमरुञ्जेल !
मधेस र दार्जिलिङ
ए मान्छे !
तिम्रो दिमाखमा गोर्खाल्यान्ड तातिरहँदा
जब नशामा मधेश सेलाउँछ ,
म तिमीलाई कसरी “राष्ट्रवादी” मानुँ ?
बेनर्जीले किचिरहेको दार्जिलिङ
र, महेन्द्रवादले थिचिरहेको मधेस
घाउ एउटै हैन र ?
शाही गणतन्त्र
सतर्क ! सतर्क !
बाटो खाली गर्नुस् !
सडक किनारमा उभिनुस् !
नहल्लिनुस् ! नबोल्नुस् !
उ त्यहाँ हेर्नुस् त
गणतन्त्र आइरहेको छ
शाही बग्गी चढेर !

Recent Comments