तिम्रो लागि ‘एक मिनेट’
क्षणभरमै बितिजाने
बस्, एउटा नाथे समय न हो ।
मेरा लागि उही ‘एक मिनेट’
आशाहरुको मसिनो त्यान्द्रोमा अडिएको
पुरापुर एक जिन्दगी हो ।
प्रेममा
प्रेमी प्रेमीकाले
एकअर्कासँग
सबैभन्दा किम्ती चिज
के चैँ माग्न सक्लान् ?
म त बस्
‘एक मिनेट’ मागिरहेछु ।
तिमिलाई लाग्ला
त्यस्तो के हुन सक्छ
जावो एक मिनेटमा ?
जुधाएर हेर
मेरा आँखामा तिम्रा आँखा
प्रेम हुन सक्छ !
संवाद गरेर हेर
एक मिनेट मसँग
सायद,
मेटासिट समाउनवाट
थर्थराउन सक्छन मेरा हातहरु !
बलोमा झुण्डीएको
प्लास्टिकको डोरीको पासोमा
गाँठो नपर्न सक्छ !
जिस्कीएर तिमिले
स्ट्याचु भन्दा
म टक्क रोकिएझैँ
रोकिन सक्छन्
फाल हान्न अगाडी बढेका मेरा खुट्टाहरु !
नपुग्न सक्छ,
एउटा प्रेमिल शरिर
नशाको बेहोसीमा !
नआउन सक्छ,
तेज गाडी अगाडी उभिने दुस्सहास !
नबन्न सक्छ,
नाडीमा ब्लेडका रक्ताम्मे समानान्तर धर्साहरु !
नहुन सक्छ,
ट्रमा, एन्जाइटी, डिप्रेसन !
र,
नजन्मिन सक्छ,
एउटा फ्रस्टेटेड क्रिमिनल थट !
माया !
तिम्रो ‘एक मिनेट’ समयले
मलाई मान्छे बनाउन सक्छ !
अरु जेसुकै गर,
बस् ‘एक मिनेट’
अर्थात, पुरा साठी सेकेन्ड
मसँग संवाद गर !
माया !
अरु जेसुकै गर,
बस् ‘एक मिनेट’
मसँग प्रेम गर !
  • अनाम किरण

 

Leave A Comment

Fields (*) Mark are Required

Recent Comments

    Categories