जबजब तिमी मलाई
प्रेमको परिभाषा सोध्छ्यौ
म तिमीलाई भन्दा ज्यादा
मेरा मार्कसिटहरु सम्झन्छु ।
परार साल
फिजिक्सलाई साँचि राखेर
तिमीले मन पराएको चम्किलो तारा
बडो मुस्किलले झारेकै हुँ ।
पोहोर साल
तिम्रा लागि टिपेको तारा
म्याथले सापटी लगेको छ।
यसपाली पनि
नाथे “अंग्रेजी “ले हदै गर्यो।
र झुण्ड्याइदिएँ त्यसैको सामुन्नेमा
एउटा ठुलो तारा ।
अर्को साल
सर्भेले ताराको दावा गरिरहेछ।
प्रिय !
तिम्रा सपनाहरुको बफादारीमा
मैले कुनै दिन आकाश रित्याईदिनेछु
र सजाउनेछु मेरा मार्कसिटहरुमा ।
म सोचिरहेछु-
कति ताराहरु टाँसेपछि
मेरो बबुरो मार्कसिट
प्रेमको प्रमाण बन्ला?
थाहा छैन
आकाशको अन्तिम तारा
मेरो मार्कसिटमा अट्ला नअट्ला
फेरि पनि,
ताराहरु चम्किएको मार्कसिट हेरेर
कमसेकम प्रेमको परिभाषा नसोध्नु !
– अनाम किरण

