तिमी थियौ
म थिएँ
बिचमा कतै प्रेम थियो ।।
प्रेम थियो
पागलपन थियो
र बिचमा कतै भ्रम थियो ।।
तिनै भ्रममाथि टेकेर
उचालेको प्रेमको झण्डा मुनि
भेटिएथ्यौँ तिमी र म
र हरायौँ निकै समय
“भ्रम”मा
प्रेम ठानेर ।
भ्रम ठ्याक्कै प्रेमजस्तै हुन्छ ।
प्रेमजस्तै सुन्दर,
प्रेमजस्तै मिठास,
प्रेमजस्तै भावुक,
प्रेमजस्तै स्वच्छ,
प्रेमजस्तै कोमल ……
र हामी
निकै इमानदारीसाथ
आपसमा “भ्रम” गरिरह्यौँ ।
अझ,
सम्बन्धले समय माग्यो
हामी फोनमै अल्झिरह्यौँ ।
सम्बन्धले भरोसा खोज्यो
हामी बाचा कसममै रमाइरह्यौँ ।
सम्बन्धले निकटता चाह्यो
हामी अङ्गालोमै भुलिरह्यौँ ।
सम्बन्धले प्रमाण माग्यो
हामी ओठहरु मिलाइदियौँ ।
हुँदाहुँदा,
सम्बन्धले इमानदारीता माग्यो
अनि त के ?
हामी सबथोक भुलेर
एकअर्कालाई याद गरिरह्यौँ ।
बस् याद मात्रै !
र भ्रमलाइ बढाइरह्यौँ ।
सप्पै पुग्दापुग्दै पनि
सम्बन्धमा अझै केही पुगेनछ
सायद – “प्रेम”
र प्रिय,
आज तिम्रै सामुन्ने म
मुर्दा शरिर लिएर
मुटु फिर्ता माग्न आएको छु
सम्बनधलाई पुर्णविराम लगाएर
गल्ती सच्याउन आएको छु।
आँफैलाई ब्रेक गरेर
ब्रेकअप माग्न आएको छु ।
म चहान्छु,
तिमी विनासर्त
मुटु फिर्ता दिनु
र टाढैवाट
मलाई बिदा गरिदिनु ।
नत्र,
हातमा हात थामेर
विदाइका आँसु झार्यौ भने,
तातो स्वासमा नियाल्दै
अङ्गालोमा बेर्यौ भने,
के थाहा ?
यसपालि पनि भ्रम हुनसक्छ ।
र भ्रमै भ्रममा फेरि पनि
प्रेम हुन सक्छ ।
– अनाम किरण

