चोकवाट देब्रे छुट्टिने बेला
बेग्रल्ती प्रश्नहरु बोकेर
केही जोडी शंकालु आँखाहरु
म तिर प्रश्न तेर्साइरहेछन् !

हो!
त्यो सजिलो बाटोमा
मैले जिन्दगी नभेटेकै हो,
त्यो सुविधाको संसार
मैले बाँच्न नसकेकै हो ।

जितिएला वा हारिएला ?
सपारिएला वा बिगारिएला ?
बाँचिएला वा मरिएला ?
छोडौँ यी प्रश्नहरु !
बरु,
नबिग्रने संकल्प बोकेर
नथाक्ने बाचा गरेर
कुदौँ नयाँ दिशा तिर !

मलाई यत्ति थाहा छ
यो पागलपनका लागि पनि
एउटा ठुलो छाती चाहिन्छ
एउटा कठोर मुटु चाहिन्छ
एउटा बौलाहा दिमाग चाहिन्छ ।

थाकेका मान्छेहरु
किनारमा बसेर गिज्याउँदै गर्छन् ,
शब्दवाणहरु हान्दै गर्छन्
तर हामीले पाईला चालेनौँ भने,
इतिहासले हामीलाई गिज्याउनेछ
हाम्रै मन मस्तिष्कले हामीलाई गिज्याउनेछ
यत्ति सोचौँ,
मृत्यु कुरेर बस्ने
वा
जिन्दगीको खोजीमा हिँड्ने ?

– अनाम किरण

Leave A Comment

Fields (*) Mark are Required

Recent Comments

    Categories