सहरभरी हल्ला छ
कामरेडको दरवारवाट
रातो किताब हरायो रे !

याद छैन कामरेडलाई
किताब कहाँनेर थियो ?
कहिलेसम्म थियो ?
कहिले वाट हरायो ?
के थियो किताबको नाम?
को थियो लेखक?
कस्तो थियो सार?
बिर्सिसक्नु भयो कामरेडले
कति समय भएको थियो ?
किताब नसुम्सुमाएको
पाना नफर्काएको
अक्षरहरु महसुस नगरेको !
बस् !
धुरमुर धुरमुर सम्झना छ
“सायद किताबको गाता रातो थियोे।”

कुनै दिन
कण्ठस्त थियो कामरेडलाई
आफ्नै जिन्दगीका भोगाइजस्ता
कितावका सानाठूला अक्षरहरु,
उस्तै भोगाई बाँचेका मान्छेहरु जस्ता
किताबका सप्ठ्यारा-अप्ठ्यारा शब्दहरु,
अनि राम्रोसँग स्मरण थियो
सबथोक बदल्ने आँट गरेजस्ता
किताबका लामा छोटा वाक्यहरु ।

तिनै वाक्यहरु पढेर
उहाँ वाक्क हुनुभएको थियो
आँफुले भोगीरहेको जिन्दगीदेखि
अनि होमिनुभएको थियो
एउटा महान रातो यात्रामा ।

त्यही रातो किताब
अचानक गायव भो रे !

सहरमा हल्ला छ-
त्यो थोत्रो किताबलाई कामरेडले
भगवानको पोस्टरको गाता हाल्नुभो
जनैले मज्जाले बाँध्नुभो
र थन्क्याउनु भो रे पुजा कोठामा
“मिस्टर राम र मिसेस सीता” सँगै
हो , त्यही दिन देखि
रातो किताब नराम्ररी रिसाएको थियोे रे !

रातो किताबले
“एडजस्ट” गर्न खोजिरह्यो
बेद, कुरान र बाइवलहरु सँग
तर उनीहरुका सामु उसले
अछुतजस्तै व्यवहार पाइरह्यो ।
अझ रातो किताबलाई
झस्काईरह्यो पुजा घण्टीले,
उकुसमुकुस बनाइरह्यो पुजा धुपले,
अत्याइरह्यो दैवीक मन्त्रहरुले,
जिस्काईको कामरेडको टुप्पीले,
कामरेडले जतिपटक श्राद्द गर्नुभो
किताबलाई त्यतिपटक मरेझैँ लाग्थ्यो,
कामरेडले जतिपटक भाकल दिनुभो
किताबलाई त्यतिपटक गला रेटिएझैँ लाग्थ्यो ।

बर्षौँसम्म हेरीरह्यो रातो किताबले
कामरेडको नयाँ रुप,
कामरेडको फेरिएको चरित्र,
कामरेडको बदलिएको बर्ग प्रेम,
कामरेडको उठबस र खानपिन
र चुपचाप हेरेर टोलाइरह्यो
कामरेडको “अफिमवाद”

यसरी अपमानित महसुस गरेपछि
कामरेडको दरवारवाट
रातो किताब हराएको चर्चा छ

ए कामरेड!
तपाईँले अहिले समातेको किताब
के साँच्चिकै रातो किताब नै हो त?

नढाँटी भन्नुस त –
कतै तपाईंको पनि
रातो किताब हराएको त छैन ?

– अनाम किरण

Leave A Comment

Fields (*) Mark are Required

Recent Comments

    Categories