सतर्क ! सतर्क !
बाटो खाली गर्नुस् !
सडक किनारमा उभिनुस् !
नहल्लिनुस् ! नबोल्नुस् !

उ त्यहाँ हेर्नुस् त
गणतन्त्र आइरहेको छ
शाही बग्गी चढेर !

सुन्नुभएन ?
नहल्लीनुस् ! नहीँड्नुस् !
यो मौसुफको सवारी हो
एकदम सतर्क !

धेरै दिनपछि
तपाईंको प्यारो गणतन्त्र
ओर्लिएको छ पात्रोवाट
शितल निवासको वाटो हुँदै
ओसिएका सडकहरुमा
बडो ठाँटबाँटका साथ
बुझ्नुभो नि ?

बरु सुन्नुस !
अब दुईचार दाम राखेर
सर्लक्क लत्रनुस सडकमा
महामहिम आइपुग्नै लाग्नुभो
फेरि छुट्नु होला नी !

कत्ति गाह्रो नमान्नुस्
मज्जाले झुक्नुस् !
अझ्झै झुक्नुस् !
यो तपाईंहरुको आफ्नै गणतन्त्र हो ।

मसँग किन रिसाउनुहुन्छ ?
कसलाई थाहा थियो र
गणतन्त्र र राजतन्त्रमा
श्रीपेच मात्रै फरक हो भनेर !
कसलाई थाहा थियोे र ?
राजतन्त्र र गणतन्त्रको फरक
नारायणहिटी देखि शितल निवासको
दुरी मात्रै हो भनेर !

नरिसाउनुस् न !
बरु तयार रहनुस्
अब कुनै एक दिन
यहि बग्गी चढेर
समाजवाद तिर जानुपर्छ है !
  • अनाम किरण

Leave A Comment

Fields (*) Mark are Required

Recent Comments

    Categories