ए मान्छे !
तिम्रो दिमाखमा गोर्खाल्यान्ड तातिरहँदा
जब नशामा मधेश सेलाउँछ ,
म तिमीलाई कसरी “राष्ट्रवादी” मानुँ ?

बेनर्जीले किचिरहेको दार्जिलिङ
र, महेन्द्रवादले थिचिरहेको मधेस
घाउ एउटै हैन र ?

यता मधेश दुखिरहेछ
उता त्यो देश दुखिरहेछ।
सरी दार्जिलिङ ,
म आँफै आँशुमा छु
रुमाल तिमीलाई कसरी पठाउँ ?

जुन दिन ,
मेरो मधेस मुस्कुराउनेछ
म लेख्नेछु एउटा खुल्ला चिठी –
ए,
ममता नभएकी “ममता” !
मेरो मधेस शान्त छ त
दार्जिलिङमा ताण्डव किन?
वाह प्रजातन्त्र !
कुरीकुरी ।

त्यसैले म दार्जिलिङलाई
शुभकामना मात्र दिन सक्छु ।
किनकि ,
मैले दार्जिलिङ बोलिरहँदा
मेरो चेतनाले मलाई धिक्कार्छ
अनि मेरै सामुन्नेमा
मेरो मधेश रोइदिन्छ !

सरी यार,
मलाई मधेश प्यारो लाग्छ !
मलाई मेरो देश प्यारो लाग्छ !
र म त्यो राष्ट्रवादको घृणा गर्छु
जहाँ मधेस बिरानो लाग्छ ।

ए मान्छे ,
मुटुमा घाउ बोकी
राष्ट्रवादी सफर कहाँसम्म हो ?

  • अनाम किरण

Leave A Comment

Fields (*) Mark are Required

Recent Comments

    Categories