ए शासक !
कसरी मानुँ म
तिम्रा अजिव फर्मानहरु ?

तिमी चाहान्छौ
तिम्रा कुकृत्यहरु बिरुद्ध
नबोलुन कुनै ओठहरु,
नउठुन सचेत मुठ्ठीहरु,
आँखाहरुले नदेखुन,
कानहरुले नसुनुन,
नतातुन गिदीहरु,
नटुटोस् धैर्यताहरु !

माफ गर !
म सक्दिन बन्न
तिमिले चाहेजस्तो दास,
न बस्न सक्छु
चुपचाप चुपचाप सालिक झैँ।

आलोचनात्मक चेत सँगै
सग्लो मान्छे बन्न खोज्नु
बिद्रोही हुनु हो भने
म बिद्रोही नै हुँ
र निरन्तर उठाईरहनेछु
गलत बिरुद्ध आवाजहरु
नभाँचिञ्जेल !
नमरुञ्जेल !

हुन त म
यो कुरुप समयको
राते कामी पनि होइन ,
तर यथार्थ यो पनि हो कि
हरेक युग, समाज र परिवेशले
एउटा चे जन्माउने सामर्थ्य राख्दछ।

– अनाम किरण

Leave A Comment

Fields (*) Mark are Required

Recent Comments

    Categories