चिसो छिँडीमा सुतेर
न्यानो सपना देख्नु
अपराध नै हो त सरकार ?
मेरी श्रीमतीको स्तनवाट
निख्रिएर झरेका दुई थोपा दुधले
अँह ! भिजेन मेरी छोरीको ओठ
र मेरै काखमा गुन्गुनाईरही उसले
हप्तौं सम्म कुपोषणको गीत
ए सरकार ,
मेरी छोरीको लास छामेर
मैले एक पेट भातको सपना देखेँ
के मैले अपराध गरेँ ?
अरबको निर्दयी घाममा
रगत, पसिना र जवानी पोलेर
मैले देश किनिरहँदा
मेरा बा को लाशले काँध पाएन
मेरी आमाको हातले टेको पाएन
र मेरै छोराले चिन्दै चिनेन
आफ्नै बाउको सग्लो शरीर
ए सरकार ,
म आफ्नै घरमा बसेर
बुढी आमाको साहारा बन्न चाहेँ
सानो छोरोको औँला समाउन चाहेँ
के मैले अपराध गरेँ ?
साहुको थोरै ऋणको भारले
बिस्तारै बिस्तारै
घरखेत सबै गुम्यो
ए सरकार,
सबथोक साहुलाई दिँदा पनि
सावाँ त परै जाओस्
ब्याज पनि नघटेपछी
मैले सबै हरहिसाब खोजेँ
के मैले अपराध गरेँ ?
मेरै औँलामा मसी लाएर
मैले मसिहा चुनेर पठाएकाहरुले
मैले दुखसुख गरेर तिरेको
तिरोमा तर मार्न थालेपछि
हो! म मेरो औँला
र, मेरो नागरिकता हेरेर टोलाएकै हुँ
ए सरकार ,
मलाई यो लुटीखाने ब्यबस्था मनपरेन
मैले यसको अन्त्य चाहेँ
के मैले अपराध गरेँ ?
मेरै आँगनमा अचानक
बडेमानको दशगजे पिल्लर
शानका साथ उभिएपछि
मैले प्रश्नवाचक हेराई हेरेकै हो
ए सरकार,
देश दुख्यो र म रोएँ
के मैले अपराध गरेँ ?
ए सरकार,
जे सत्य आवाज हो
अचेल तँ त्यही नसुन भन्छस् ,
जुन वाटो सही हो
त्यही गोरेटो नहीँड भन्छस्,
अन्यायमा नबोल भन्छस्,
पिडामा नरो भन्छस् ,
अहँ ,
म तेरो अनुमति लिएर मात्रै
श्वास फेर्नुपर्छ भन्ने मान्यता राख्दिन
ए सरकार,
के मैले अपराध गरेँ ?
तमाम सिन्डिकेटहरु तोडेर
सपना र सम्भावना देख्नु
अपराध नै हो भने
ए सरकार
म यो युगको
सबैभन्दा खतरनाक अपराधी हुँ ।
– अनाम किरण
