"मेरा बा र पुरानो कोट"
✍️ अनाम किरण

मेरा बा
पुरानै कोटमा पनि
नयाँ मुस्कुराउँछन ।

त्यो कोट
ठ्याक्कै बा जस्तै छ –
बाको झरेको कपाल
र कोटमा नअडिएको रङ
मीत लगाइदिए हुन्छ !
सपनाहरू खुम्चिएर
चाउरी परेका बाका गाला
र च्यातिएर सिलाउँदा सिलाउँदा
मुजा परेको बूढो कोट
जुम्ल्याहा ठान्दा हुन्छ !
उध्रिएको कोट
र उधारा सपनाहरु,
टुटेका टाँक
र जोड्न नसकेका खुसिहरु,
नमिल्दो सिलाई
र नमिलेका जिन्दगीका लयहरु
पर्यायवाची हुन बाका ।
जहाँ,
घामपानी भोग्दा भोग्दा
कोट कोटजस्तो छैन !
जिन्दगानी भोग्दा भोग्दा
बा बाजस्ता छैनन् !
बास्तबमा –
कोट बकवास भएको छ
बा दास भएका छन् ।
त्यो चुहिने कोट
जिन्दगी हो बाको
जसवाट हरदिन
घाम चुहिएर सकिन्छ
जसवाट हररात
जुन चुहिएर सकिन्छ !
तर,
बाले कहिल्यै चुहाएनन्
आशाका लहरहरु,
सपनाका शृङ्खलाहरु,
र प्रश्नवाचक भविष्यहरु !
तिमी पत्याउ नपत्याउ
बा थोत्रिएका हुन
मृत्यु बाँच्दा बाँच्दा
त्योभन्दा बढी
कोट थोत्रिएको हो
जिन्दगीसँग मर्दा मर्दा !
बालाई थाहा छ
त्यो कोटमात्र होइन
दुख हो जिन्दगीको,
पराजय हो लक्ष्यको,
असफलता हो प्राप्तिको !
जहाँ,
पसिना भन्दा बढी
मृत सपनाहरु गन्हाउँछ,
मयलको टाटो भन्दा बढी
दुखका दागहरु देखिन्छ,
उध्रिएका धागाहरुभन्दा बढी
बिग्रिएको बिगत दर्सिन्छ ।
तर पनि मेरा बा
त्यही थोत्रो, गह्रुङगो, पुरानो कोटलाई
बेजोड प्रेम गरिरहन्छन् ।
जहाँ सिङ्गै जिन्दगी
यसरी उनेका छन् की
कोटलाई एकपटक छाम्दा
बा हजारपटक भेटिन्छन् ।
र त मेरा बा
पुरानै कोटमा पनि
नयाँ मुस्कुराईहन्छन् ।
र म सोच्छु
त्यो पुरानो कोटको भारी
मैले बोकेर
बाका लागी एउटा छुट्टै
नयाँ कोट मैल उपहार दिए
मेरा बाले
झन कति प्रेमले लगाउँदा हुन?
नयाँ कोटभित्रबाट मेरा बा
झन कति नयाँ मुस्कुराउँदा हुन?

Leave A Comment

Fields (*) Mark are Required

Recent Comments

    Categories