बैँस ‘ओभरलोडेड’ ओठ
प्रेम छल्किइरहने आँखा
डिम्पल बसाईदिने गाला
छैन केही उ सँग
तैपनि उ
मेरी “मिस वर्ल्ड” हो
किनकि
म उसलाई प्रेम गर्छु !
बिछट्टै मिलेको बदन
लयात्मक लचकदार हिँडाई
सुनिरहुँ झैँ मीठो बोली
छैन कत्ति उ सँग
तैपनि उ
मेरी “सबथोक” हो
किनकि
म उसलाई प्रेम गर्छु !
हुनसक्छ
सुन्दरताको परिभाषामा नअटाउलान
जिम्मेवारीले भरिएका ओठ
सपनाहरुले रंगिएका आँखा
अनि
उज्यालो पर्खिरहेका गाला
र, सायदै समेटिएलान
त्यागले भरिएको शरीर
लक्ष्य तिर लम्किएको हिँडाई
अनि
भरोसा योग्य बोली
त्यसैले त
उ कुरुप कुरुप र कुरुप मात्र छे
दुनियाँको नजरमा
किनकि
सुन्दरताको मामलामा
दुनियाँ आँफै कुरुप छ !
कुरुप नै सहि
उ मेरी सुन्दरता हो
किनकि
म उसलाई प्रेम गर्छु !
जुनदिन
सुन्दरता मनवाट फुत्त निस्किएर
टाँसियो ओठ र आँखामा
र छरियो निर्लज्ज निर्लज्ज भै
घाँटीको वाटो हुँदै
उठेका/दबेका छातीहरुमा
र अनवरत फैलिरह्यो
शरीरका कुना कुना तिर
ठीक त्यही दिन
सुन्दरताले “सुसाईड” गर्यो
हरेक मनहरुवाट
नपत्याए मलाई जवाफ देउ
“आँखाले किन प्रेम गर्छ?”
– अनाम किरण

